आन्दोलनरत न्यायाधीशहरुले छोडे आन्दोलन, फर्किए नियमित काममा
काठमाडौंस् गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित काममा फर्केका छन्। बिहीबार बसेको न्यायाधीशहरुको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधि पारित गर्ने निर्णय गरेसँगै न्यायाधीशरु इजलासमा फर्किएका हुन्। फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ।

बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बसेर निर्णय कार्यान्वयनमा आउने छ। सो निर्णय नआउन्जेलसम्म न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका तामेली, फैसला संशोधनलगायत मुद्दा हेर्नेछन्। प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन्।
तर, कानुन व्यवसायीहरु भने सो निर्णय सकारात्मक भएपनि आफ्नो आन्दोलन न्यायिक शुद्धीकरणका लागि भएकाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन्। उनीहरुले राजीनामा नआउञ्जेल बहसमा नजाने बताएका छन्।
करिब ४ हप्तादेखि न्यायाधीश र कानुन व्यवसायीहरु न्यायिक शुद्धीकरणका लागि भन्दै आन्दोलित थिए। कानुन व्यवसायीले प्रधान्यायाधीशविरुद्ध दिनहुँ सर्वोच्च परिसरमा धर्ना दिँदै आएका छन्।

