प्रधानन्यायाधीश प्रकरण : आन्दोलन कारीको पक्षमा खुले यी तीन अन्तर्राष्ट्रिय संस्था



काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको अगुवाईमा आन्दोलन भइ रहेका बेला तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।

अदालतको विश्वसनीयता र स्वतन्त्रता जोगाउन यो सङ्कटको तत्काल समाधान गर्नुपर्ने उनीहरूको जोड छ । ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको सङ्कट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बस्न अस्वीकार गरेका छन् । आन्दोलनरत नेपाल बारले पनि अदालतको सङ्कटबारे गम्भीर कदम चाल्न दलहरूलाई आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस्