कांग्रेस केन्द्रीय समिति बैठक : यस्ता छन् पौडेल समूहका एजेन्डा
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनका लागि तीन एजेन्डा तय गरेको छ। शुक्रबार आफ्नो समूहमा भएको छलफलले तीन एजेन्डा तय गरेको हो।

कांग्रेसले कार्तिक २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा प्रस्तुत हुन एजेन्डा तय गरेको हो।
ुमहाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद् अधिवेशन अन्त्यको कारणबारे सभापति देउवालाई आफ्नो पक्षले छलफल उठाउने निर्णय भएको छ,ु बैठकमा सहभागी एक नेताले भने।
प्रधानन्यायाधीशसम्बन्धी विवादबारे सरकारको नेतृत्वकर्ताका हैसियतमा पहल गर्न दबाब बढाउने पौडेल समूहको तयारी छ। हालसम्म सरकारले न्यायालयको विवादबारे मुख खोलेको छैन।
महाधिवेशन अझै सुनिश्चित हुन नसकेको समेत भेलाको ठहर छ। यसका लागि सभापति देउवाले विश्वसनीय वातावरण बनाउन नसकेको समेत ठहर गर्दै महाधिवेशन सुनिश्चितताका लागि दबाब दिने विषयमा छलफल भएको ती नेताको भनाइ छ। आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने विषयको प्रवेश भएपनि ठोस निर्णय भने हुन सकेन।
बत्तितपुतलीस्थित अनुपम फुड ल्याण्डमा भएको छलफलबारे जानकारी दिंदै महामन्त्री डा। शशांक कोइरालाले भने, ‘रामचन्द्रजीले म नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने छैन भन्नुभएको छ।’
महामन्त्री कोइरालाले पौडेल, प्रकाशमान सिंह, आफू र डा। शेखर कोइरालाले सहमति गरेर सभापतिको एउटा उम्मेदवार नउठाए पार्टी देउवालाई बुझाइदिए हुने पनि बताए ।
‘हामी चार जना एकजुट भएर जानुपर्छ । एक भएर गए मात्रै सफल हुने हो’ शशांकले भने, ‘हामी चारजनाबीच एक जनामात्रै सभापतिमा नउठ्ने हो भने त कांग्रेस फेरि देउवाजीलाई बुझाइदिए हुन्छ ।’
पौडेलले सिंह र दुई कोइरालाबीच सहमति भए आफूलाई पनि मान्य हुने बताए । नभए आफूलाई सभापतिमा अघि सार्न आग्रह गरे । आफू एकपटक सभापति हुन पाएमा पार्टी तीनवटै निर्वाचनमा जिताउने र पार्टी राजनीतिबाट विश्राम लिनेसमेत पौडेलले भेलामा बताएका छन् ।
नजिकिंदो महाधिवेशन अघि पौडेल पक्षमा सभापतिका आकांक्षीको ताँती नै छ। पौडेलमात्रै होइन डा। शशांक कोइराला, प्रकाशमान सिंह, डा। शेखर कोइराला र सुजाता कोइरालाले सभापतिमा दाबेदारी गरेका छन्। उनीहरूले २८ कात्तिकमा बस्ने केन्द्रीय समितिको बैठकपछि सभापतिको उम्मेदवारसहितका पदाधिकारी टुंग्याउन आन्तरिक छलफल पनि गर्ने भएका छन्।

