प्रधानसेनापति शर्मा आज भारत जाँदै,यस्तो छ कार्यक्रम



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आजबाट भारत भ्रमणमा निस्कने भएका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा उनी भारत प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति भएपछि पहिलो विदेश भ्रमणमा निस्कन लागेका प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्ने भएका हुन् ।

भ्रमणका क्रममा उनले भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्ने कार्यक्रम समेत छ।
नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन्।

नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’दिनेछ। प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता हुनेछ।

प्रधानसेनापति शर्माले भारतीय आर्म फोर्सका चिफ आफ डिफेन्स स्टाफ विपिन रावतसँग समेत भेट्ने छन्। भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय रक्षा सचिवसँग समेत द्धिपक्षिय हितका विषयमा छलफल गर्नेछन्। औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्