प्रधानमन्त्री देउवाले भने- ‘एमसीसी पास गर्छौं भनेर प्रचण्ड र मैंले हस्ताक्षर गरेर पत्र पठाएका छौं’
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पारित गर्ने प्रतिवद्धता संयुक्त रुपमा अमेरिकासँग गरेको खुलेको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० पारित गराउनका लागि पत्र पठाइसकेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा सहभागी भएर फर्किएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्नका लागि पत्र पठाइएको बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाएको उनले बताए ।
एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गो भएको भेटको क्रममा आफूले एमसिसी पास हुने जानकारी गराएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।ल्याटोर्तुले एमसिसी कहिले पास हुन्छ भनेर सोधेको र आफूले दलहरुसँग कुराकानी भइरहेको जानकारी गराएको देउवाले बताए ।
केही अध्यादेश ल्याउनका लागि संसद अधिवेशन रोकिएकाले एमसिसी पास हुन नसकेको जवाफ दिएको पनि देउवाले बताएका छन् । ल्याटोर्तु र देउवाबीच गएको मंगलबार भेटवार्ता भएको थियो ।

