बाँकी स्थानीय तहको अधिबेशन कार्तिक २५ गतेभित्र टुंग्याउन एमालेको निर्देशन
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि यही कार्तिक २५ गतेभित्र वडा र स्थानीय तहको बाँकी रहेको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीले बाढी पहिरोका कारण प्रभावित बन्न पुगेको क्षेत्रमा तत्काल वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशनको मिति नजिकिएसँगै केन्द्रले यही कार्तिक २५ गतेभित्र बाँकी रहेको वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिइसकेको बताउनुभयो । उहाँका अनुसार करिब एक सय स्थानीय तह र थोरै मात्र वडाहरूको अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ ।
देशभरबाट महाधिवेशनमा सहभागी हुने १ हजार ९ सय ९९ जना प्रतिनिधि यही कार्तिक २७ गते छनोट गर्ने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ । प्रतिनिधि छनोट गर्नुअघि अनिवार्य रूपमा वडा र पालिकाको अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय पचासभन्दा बढी स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको बताएको छ ।
महाधिवेशनको तयारीमा जुटेको एमालेको जिल्ला र प्रदेश कमिटीको अधिवेशन भने महाधिवेशनपछि मात्र हुने भएको छ । महाधिवेशनअघि नै जिल्ला र प्रदेश कमिटीको अधिवेशन हुनुपर्ने भएपछि एमालेले वडा र पालिका तहको अधिवेशन गरेर महाधिवेशन गर्न लागेको हो । सचिव तामाङका अनुसार हाल एमालेको संगठित सदस्यको संख्या ७ लाख २८ हजारभन्दा बढी रहेको छ । सोही संगठित सदस्यबाट आगामी महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनोट हुनेछन् ।

