मल्ललाई क्यान सचिबको जिम्मेवारी




काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)मा सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई दिइएको छ । क्यानको आज बसेको बोर्ड बैठकले मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

क्यानको निर्वाचित सचिव अशोकनाथ प्याकुर्‍याल र उपाध्यक्ष राजबाबु श्रेष्ठले यही असोज १३ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो । बोर्ड बैठकले दुवैजनाको राजीनामा स्वीकृत गरेको छ ।

‘‘सचिव र उपाध्यक्षको राजीनामा स्वीकृत गर्दै नेपाली क्रिकेट विकासका लागि उहाँहरूले पुर्‍याउनुभएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । संघको विधानबमोजिम तत्कालका लागि रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई कार्यवाहक दिने निर्णय गरिएको छ,’’ क्यानले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष चतुरबहादुर चन्दसँग सम्बन्ध बिग्रिएपछि सचिव प्याकुर्‍याल र उपाध्यक्ष श्रेष्ठले राजीनामा दिएका हुन् । उनीहरूले यही कारण राजीनामा दिएको भनेर नखुलाए पनि अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै पछिल्लो समय प्याकुर्‍याल पक्ष असन्तुष्ट थियो ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपालमा ट्वान्टी–२० प्रतियोगिता गर्ने निर्णय गरेको थियो । त्यसका लागि क्यानले साधारणसभाबाट प्रस्ताव पारित गरेको थियो । तर, आजको बैठकले भारतीय कम्पनीसँगको सम्झैता रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्