एमालेले भन्यो-‘बित्तीय संकट सरकारको अकर्मण्यताले आएको हो,हाम्रो दोष छैन’



काठमाडौं।सरकारले प्रतिनिधिसभा बैठक शुरू भएपछि बजेट पारित गर्ने कुरालाई महत्त्व नदिई सत्ता स्वार्थमा अल्मलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको बताउंदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले त्यसको दोष आफुहरुलाई दिन खोजिएको भन्दै कडा आपत्ति प्रकट गरेको छ।

आर्थिक वर्ष शुरू भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसद्को‌ काम कारबाही अघि बढाउने काम भइरहेको छ’, महासचिव पोखरेलले भनेका छन् ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि आपत्ति जनाएको छ । ‘सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको छ’, विज्ञप्तिमा छ ।

सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवारपूर्ण काम गरेको एमालेको आरोप छ । ‘एमाले बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ’, महासचिव पोखरेलले भनेका छन्, ‘प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्