अधिबेशनको मिति धकेलिंदै गएकोप्रति कांग्रेस नेताहरू असन्तुष्ट,महाधिवेशनको सुनिस्चितता गर्न माग

काठमाडौं।नेपाली कांग्रेसका नेताहरुले डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका क्रियाशिल सदस्यहरु खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा को गृह जिल्ला डडेल्धुरामा प्रहरीको घेराबन्दीमा वडा अधिबेशन सम्पन्न गरिएको भन्दै त्यसको तीब्र बिरोध भइ रहेका बेला कांग्रेस नेताहरू डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापालगायतका १० नेताहरूले सो माग गरेका हुन्।
उनीहरुले काठमाडौं, मोरङलगायतका १९ जिल्लाको आजसम्म पनि क्रियाशिल सदस्यको सूची सार्वजनिक नगरिँदा अधिवेशनको प्रक्रिया प्रारम्भ हुन नसकेको बताएका छन्। यसले देशभर एकैपटक शुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनामा समेत विभेद भएको नेताहरुले बताएका छन्।
नेताहरुले भनेका छन्, ‘पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुःखद पक्ष हो। यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरु विकसित हुन थालेका छन्। आज मात्रै अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनहरु पर सारिएको छ। यी सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ।’
नेताहरुले निर्धारित समयमा १४ औँ महाधिवेशनको सुनिश्चितताका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
यस्तो छ कांग्रेस नेताहरुको माग :
१. पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रक्रिया शुरु भैसक्दा पनि धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद घटनाको रुपमा लिन सकिदैन। नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ। यसको अबिलम्ब सम्बोधन होस्।
२. डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका क्रियाशिल सदस्यहरु खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सञ्चालन गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोजिम कार्यसमितिको सहमतिमा विधिसम्मत जिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ।
३. देशभर अधिवेशनको प्रक्रिया शुरु भईसक्दा पनि केही जिल्लाको क्रियाशिल सदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पिडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सञ्चालन गर्न बाँकी रहेका जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गरियोस्।
४. यसैबीच, पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले दिनु भएको राजीनामाले महाधिवेशनको जारी सम्पूर्ण प्रक्रिया नै अवरुद्ध हुने त होइन? भन्ने संशय बढाएको छ। साथै उहाँले विभिन्न सञ्चार माध्यममा दिनुभएको अभिव्यक्तिले व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुँदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ। यसको तुरुन्त अन्त्य गरी महाधिवेशनको सुनिश्चितताको विश्वसनियता कायम गरियोस्।
५. उपरोक्त सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन्, नेपाली कांग्रेसका झण्डै नौ लाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार हुन्। यी सबै विषयहरु निरुपण गरी महाधिवेशनतर्फ अग्रसर हुन ठोस् छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस्।

