सांसद वली र शाहीलाई कारबाही नगरे एमालेले लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदलाई पदबाट नहटाएसम्म प्रदेशसभा चल्न नदिने जनाएको छ । स्वतन्त्र राजनीतिक समूहका तर्फबाट सूर्य चिह्न लिएर चुनाव जितेका अजय शाही र नेकपा छँदा एमाले कोटाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ ।

अजय शाही र विमलाकुमारी खत्री वलीलाई सांसदबाट नहटाएसम्म प्रदेशसभा चल्न नदिने भनी सोमबार सभामुखलाई पत्र बुझाउँदै एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमीश्वर ढकाल ।
एमाले प्रमुख सचेतक भूमीश्वर ढकालसहितको टोलीले सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई लिखित पत्र बुझाउँदै एमालेले कारबाही गरेका सांसद पदमुक्त नहुँदासम्म प्रदेशसभा चल्न नदिने जनाएको छ । पत्रमा ‘सभामुखले पटकपटक पद अनुकूलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेशसभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्य नहटाएको’ उल्लेख छ ।
एमालेले शाही र वलीले दलको आचारसंहिता, विधान र ह्विप उल्लंघन गरेको भन्दै पदमुक्त गर्न भदौ १ गते पनि सभामुखलाई पत्र बुझाएको थियो । त्यसयता एमालेले नियमित प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभा सचिवालयले भदौ ६ मा पत्रमार्फत नेकपा एमालेले कारबाही गरेका ती सांसद पदमुक्त नहुने बताएको थियो ।
एमालेले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ अनुसार एमाले संसदीय दलको सदस्यको हैसियतमा उनीहरूलाई कारबाही गर्दै पदमुक्त गर्न माग गरेको थियो । तर, प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले आफू स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आबद्ध रहेको विवरण बुझाएका थिए । यही कारण देखाउँदै सभामुखले दफा ३४ अनुसार उनीहरू एमाले संसदीय दलको सदस्य नठहरिएको निर्णय गरेका थिए । एमालेले सभामुखको उक्त निर्णय अवैध र गैरकानुनी रहेको जनाउँदै आएको छ ।
यही क्रममा सोमबार दिउँसो प्रदेश सभाको बैठक डाकिएकोमा एमालेले त्यसअघि नै सभामुखलाई पत्र बुझाएको हो । एमालेले सोही विषयलाई लिएर यसअघि पनि बैठक अवरुद्ध गर्दै आएको छ ।

