म एमालेमै छु,समाजबादीमा गएको भनेर चरित्रहत्या गर्न खोजियो :गौतम

काठमाडौँ । नेता माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि आफूले नयाँ दललाई सघाउने संकेत गरेका नेता नेता वामदेव गौतमको बोली फेरिएको छ।उनी एमालेमै रहेको उनको सचिवालयले दाबी गरेको छ। एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान आपत्ति जनाएको हो।

‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो।’
बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि वामदेवको सचिवालयको भनाइ छ। गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने बताएका नेता गौतमले किन बोली फेरे भन्नेबारे एमालेवृत्तभित्र विभिन्न आशंकाहरु व्यक्त हुन थालेका छन्। ‘खासमा उहाँ माधव नेपालको दलको नेतृत्व गर्दै सरकारमा जान चाहनुहुन्छ। उपप्रधानसहित कुनै शक्तिशाली मन्त्रालयमा आसिन हुन चाहनुहुन्छ’, नेता गौतमसँग नजिक भएर काम गरेका एक एमाले नेता भन्छन्, ‘आजको विज्ञप्तीको अर्थ कि यही चाहनालाई परिपूर्ति गर्न गरिएको बार्गेनिङ हो या कि त उहाँ मन्त्री बन्न सकिन्न भन्ने लागेर ओलीतिरै जाने तयारी हो।’

