आयो एमालेका नौ नेताको संयुक्त बिज्ञप्ति,पार्टी एकता र बिधिसम्मत सन्चालनको पक्षमा उभिन आग्रह

काठमाडौं । माधवकुमार नेपालको पक्षमा रहेर पार्टी एकताका लागि क्रियाशील रहंदै आएका एमालेका नौ जना नेताहरुले नेकपा एमाले एकताका लागि आह्वान गरेका छन् । पार्टी एकताका लागि प्रयासरत उनीहरुले माधवकुमार नेपाल पक्षले नयाँ पार्टी घोषणा गरी दर्ता प्रक्रियासमेत अगाडि बढाएका अवस्थामा पार्टी एकताका लागि संयुक्त वक्तव्य जारी गरी आह्वान गरेका हुन् ।

यस्तो आव्हान गर्नेमा बुधबार बागमती प्रदेशको मुख्यमन्त्री बनेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्षद्धय युवराज ज्ञवाली र भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट, र योगेश भट्टराई रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्तले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरुले आफूहरु विभाजित पार्टीको एकताका लागि अझै क्रियाशील रहेको जनाएका छन् । उनीहरुले सरकारले जारी गरेको दल विभाजन सम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जना सांसदमाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग गरेका छन् ।
वक्तव्यमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ । संयुक्त वक्तव्यमा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरिएको छ ।


