प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको कडा चेतावनी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको कडा आलोचना गरेका छन् । देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेपछि अचानक संसदीय दलको बैठक बोलाएको ओलीले यसले देउवालाई निकै महंगो सावित हुने बताएका हुन् ।

‘एमाले फुटाउन खोज्ने गठबन्धनको यो सरकार अनुचित ढंगले बनेको हो, अनुचित ढंगले अगाडि बढेको छ,’ ओलीको भनाइलाई उद्धृत गर्दै संसदीय दलको बैठकमा सहभागी एमाले एक सांसदले फरकधारलाई बताए, ‘यो सरकारले हाम्रो पार्टी फुटाएर अगाडि बढ्न खोज्दा आफैं अप्ठ्यारोमा पर्नेछ ।’
उनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुका साथै एमालेलाई एक बनाइराख्नु पर्नेमा पनि आफ्नो सम्बोधनमा जोड दिएका थिए ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले एमाले विभाजन सहज हुने गरि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य पुर्याएमा पार्टी फुटाउन मिल्ने गरि अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । यो अध्यादेशको निर्णय लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पनि फर्किएका छन् ।

