प्रचण्डले देखे फेरि पनि ओली नै सत्तामा आउने खतरा



काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान गठबन्धन सरकारको जग जुनसुकै बेला हल्लन सक्ने बताएका छन् ।

शनिबार सुरु पार्टी केन्द्रीय समितिको बैठकमा आठ पेज लामो सांगठनिक तथा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेको नेपाल पक्षले साथ छाडेको अवस्थामा देउवा नेतृत्वको गठबन्धन सरकार जुनसुकै बेला अल्पमतमा पर्न सक्ने जोखिम रहेको बताएका हुन्। माधव नेपालहरुको अडान र साथका कारण अहिले हाम्रो गठबन्धन सरकारलाई बलियो बहुमत मिलेको छ’, बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘माधवजीकै कारण केपी ओलीलाई सत्ताको घोडाबाट झारेर बालकोट पठाउन सम्भव भएको हो। तर यो गठबन्धन सरकार पनि जुनसुकै समय अल्पमतमा पर्ने जोखिम छ। त्यहीकारण हामी धेरै उत्साहित भइजानुपर्ने अवस्था छैन।

उनले पछिल्लो राजनीतिक अवस्थाको चिरफारका क्रममा जसपाको आधिकारिकता गुमाइसकेको महन्थ ठाकुर समूहले देउवालाई लामो समय साथ दिन नसक्ने पनि सम्भावना औँल्याए। उनले ठाकुर समूहको भरोसा नभएको बताउँदै यदि नेपाल पक्ष एमालेको विवाद मिलेर पार्टीमा फर्किएको अवस्थामा देउवा सरकार जोखिमा पर्न सक्ने विश्लेषण केन्द्रीय सदस्यहरुलाई सुनाएका हुन्।

देउवा नेतृत्वको सरकार बनेको एक महिना पूरा भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको अवस्थामा प्रचण्डले फेरि पनि ओली नै सत्तामा आउन सक्ने खतरा पनि देखेका छन्। उनले अहिलेको वाम-लोकतान्त्रिक गठबन्धनलाई फुटाएर ओली नै सरकारमा आउने खेल भइरहेको पनि बताएका छन्।

‘हाम्रो वाम-लोकतान्त्रिक गठबन्धन फुटाएर ओलीलाई नै सरकार फर्काउने षडयन्त्र भइरहेको छ’, उनले भने, ‘दुई दुई पटकको प्रतिगमन फेल भयो भनेर हामी हौसिनु उचित छैन। अझै पनि प्रतिगमनको खतरा यथावत छ।’

प्रचण्डले सम्बोधनका क्रममा देउवा सरकारलाई मिलेको समर्थनको अंकगणितबारे पनि व्याख्या गरेका थिए। ‘जसपाबाट उपेन्द्र यादवजीहरुका २० सांसद, कांग्रेसका ६३ र माओवादीको ४८ जोड्दा १३१ मात्रै हुन्छ’, उनले बैठकमा भने, ‘तर सरकारलाई बहुमत पुर्‍याउन १ सय ३६ सांसद जरुरी छ। यो अवस्थामा हामीले माधवजीहरुलाई गठबन्धनमा राखिरहन आवश्यक छ। उहाँहरुको साथ बचाउन नसकिए गठबन्धन संकटमा पर्छ।’

दाहालले माधव नेपालहरुलाई गठबन्धनमा राखिरहन सम्भावित सबै विकल्प खोजिने पनि बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए। उनले माधव नेपालहरू गठबन्धनमै रहने विश्वास गरे पनि ढुक्क भएर बस्न सकिने अवस्था नरहेको टिप्पणी बैठकमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्