पोर्चुगल पुगेपनि उम्कन सकेनन् ठगीमा संलग्न अभियुक्त



काठमाडौं।नेपाल प्रहरीले ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर काभ्रेपलान्चोक घर भएका केदार ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। डीएसपी नेतृत्वको टोली अभियुक्त सहित काठमाडौंमा ल्यान्ड भएको हो। उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।’हाम्रो टोली पक्राउ गर्न पोर्चुगल गएको थियो। समातेर काठमाडौं ल्याइसकेका छौँ,’ एसएसपी कुँवरले भने।

ढुङ्गानाले देवः विकास बैंक ठगी गरेर २ करोड भन्दाबढी रुपैयाँ लिएका थिए। त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। उनी सहित १२ जना बिरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा छ।

उनले ललितपुरका देवः विकास बैंकबाट विभिन्न सवारी साधनहरु सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जाको लागि दुई करोड एकहत्तर लाख छयत्तर हजार रकम लिएका थिए। बैंकको कर्जा रकम नबुझाए पछि लिलामी गर्ने बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी पाएपछि उनी बिरुद्ध २०७५ मंसिर २१ गते बैंकिङ कसुरमा जाहेरी दरखास्त दिइएको थियो।

अनुसन्धानको क्रममा ढुंगाना सवारी साधन कर्जा लिने प्रयोजनको लागि बैंकमा पेश गरेको प्रमाण पत्र समेतका कागजातहरु कीर्ते (नक्कली) बनाएको खुलेको थियो। सरकारी छाप तथा दस्तखत कीर्ते गरेको देखिएपछि काठमाण्डौ जिल्ला अदालतमा ५ वटा र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दर्ता भएको थियो।

२०७७ पुस २० गते ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला भइसकेको छ। अदातलते ढुंगाना समेतका अन्य मानिसलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र सत्तरी हजार जरिवाना गर्ने फैसला सुनाएको थियो। काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता भएका अन्य दर्जनभन्दाबढी मुद्दा विचाराधिन रहेका छन्।

२०७७ जेठ १६ गते प्रहरीले ढुंगानाले पोर्चुगलमा Residence Permit को लागि आवेदन दिएको सुचना प्राप्त गरेको थियो। त्यसपछि इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउन प्रकिया अगाडी बढाइएको थियो।उनीविरुद्ध प्रहरीले रेड कर्नर नोटिस गत वैशाख ३१ गते जारी गरेको थियो। त्यसअघि उनी बिरुद्ध २०७५ पुष १७ मा डिफ्युजन नोटिस जारी गरिएको थियो।

फरार रहेका ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो। उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्