कक्षा १२ को परीक्षा स्थगित




भक्तपुर, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।

कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको र यता कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षा भने स्थगन गर्ने निर्णय भएको छ ।

परीक्षा कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने उहाँको भनाइ थियो ।

स्वाथ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण बढ्दै गएकाले भौतिकरूपमा परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्याङ्कनबाट गर्ने बताउनुभएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयको सिफारिशमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले कोरोना सङ्क्रमण बढ्दै गएको कारण देखाउँदै तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेपछि बोर्डले परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

विद्यार्थी सङ्गठन र अभिभावकले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगन गर्न माग गर्दै आएका थिए । कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्न सकिने गरी तयारी अन्तिम चरणमा पु¥याएको बताउँदै आएको थियो । परीक्षा बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

बोर्डले परीक्षाको सबै तयारी पूरा गरिसकेको र परीक्षाअगावै सबै परीक्षार्थीलाई खोपको व्यवस्थापन गरी परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका थिए ।

बोर्डले सबै तयारी पूरा गरेको, विद्यार्थी पनि सुरक्षितरूपमा परीक्षा दिन तयार भएको र कक्षा ११ को परीक्षा भौतिकरूपमा होम सेन्टरमा अहिले पनि चलिरहेको बताएको छ ।

बोर्डले गत वर्ष परीक्षा समय र अङ्कभार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा भएको थियो । यस वर्ष परीक्षा अब कसरी र कहिले हुन्छ भन्ने अन्योल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्