२५ साउनदेखि ३२ गतेसम्म खोप सप्ताह मनाईने

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने बताउनुभएको छ।

प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो। जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै वहाँलेअसोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने दावी पनि गर्नुभयो ।
खोप सप्ताहको व्यवस्थापन पक्षलाई ध्यान दिँदै काठमाण्डाैमा एक सय ५० खोप केन्द्र, ललितपुरमा ७७ र भक्तपुरमा ३८ खोप केन्द्र पुर्याइएकाे राज्यमन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । जनगुनासोलाई सम्बोधन गर्दै सबै जिल्लाबाट क्यूआर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।
यस्तै शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
अग्रपङ्क्ति (फ्रन्टलाइन) का काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थीलगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।
त्यसैगरी कोभिडको तेस्रो लहर आउन सक्नेमा सचेत हुँदै आईसीयू, अक्सिजन, भेन्टिलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अबको पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ सङ्क्रमित थपिने सम्भावना रहेको बताउनुभयो । त्यसमध्ये नाै हजार ६ सय ९३ जनालाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

