प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ३१ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरूद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। प्रहरी हवल्दार श्रेष्ठले हिरासतमा रहेका एक व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग गरेकी थिइन्।

उनले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी घुस मागेकी थिइन्। सो सूचना पाएपछि गत फागुन २३ गते अख्तियार टंगालबाट खटिएको टोलीले श्रेष्ठलाई चाबहिलस्थित ओल्ड टाउन क्याफे एन्ड पब रेष्टुरेन्टबाट ६० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो। अख्तियारले होटलका सञ्चालक अनिश जोशीलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता रिसालले बताए।

उनका अनुसार श्रेष्ठले सो घुस रकम जोशीलाई लिन लगाएका थिए। साथै थुनामा रहेको व्यक्ति छुटाउन भनी विमानस्थल भन्सार कार्यालयका करारमा कार्यरत कार्यालय सहयोगी राम खड्काले पनि प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठबाट ३० हजार रूपैयाँ लिएको अख्तियारले जनाएको छ। सो कुरा पुष्टि भएसँगै प्रहरीले खड्कालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रहरी हवल्दार श्रेष्ठ र होटल सञ्चालक जोशीविरूद्ध ६० हजार बिगो कायम गरी चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ। त्यस्तै, खड्काविरूद्ध ३० हजार बिगो कायम गरी तीन महिनादेखि चार महिनासम्म कैद सजायको मागदाबी गरेको अख्तियार प्रवक्ता रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्