यस्तो रहेछ वास्तविक तथ्य, तर “रअ” का प्रतिनिधिसंग भिम रावलले भेटेको प्रचार गरियो !




काठमाडौँ ।एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुअघि भारतीय दूतसँग भेटेको भनेर केही मिडियाले गरेको प्रचारप्रति आपत्ति जनाउंनु भएको छ।बुधबार एक बिज्ञपति प्रकाशित गरि प्रायोजित समाचारमा उल्लेख गरिएको तथ्य पुष्टि गर्न चुनौती समेत दिनुभएको छ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ

असार २७ गतेको मितिमा एउटा अनलाईन खवरले गत २० गते मैले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसंग साँझ ६ बजेदेखि ९ बजेको बीचमा होटल मेरियटमा भेटेको कथित उच्च सुरक्षा सूत्रको स्रोतले पुष्टि गरेको भन्दै मनगढन्ते समाचार लेखेको देख्दा आश्चर्यचकित भएको छु । त्यो दिन साँझ ६ बजे म र रघुजी पन्त माधव कुमार नेपालजीको निवासमा थियौ ।

हामीले कुरा गरिरहेको समयमा विष्णुप्रसाद पौडेलजीको मलाई फोन आयो । उहाँको फोन आएको कुरा उहाँहरु दुवैजनालाई जानकारी गराए । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नुभएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुला राखें । माधव नेपालजीले वालुवाटार रघुजीलाई पनि संगै लिएर आउने कुरा गर्नुहोस् भन्नुभयो । मैले सोही अनुरुप विष्णुजीलाई आग्रह गरे । तर उहाँले तपाई मात्र ७ सात बजे आउनु होस् भन्नु भयो । यो कुरा सबै माधव नेपालजीले सुनिरहनु भएको थियो ।

उहाँको सहमतिमा म वालुवाटार गएर कुरा गर्न तयार भए । कोटेश्वरबाट निस्कँदा करिव सवा ६ बजिसकेको थियो । त्यहाँबाट म आफ्नो घर टोखा गएँ । घर पुग्दा सात बजिसकेको थियो । घरमा खाना ढिलो हुने भएकोले मैले विष्णुजीलाई फोन गरेर म ८ बजेतिर मात्र पुग्ने खबर गरिदिन आग्रह गरे । खाना खाएर तयार हुँदा करिव ८ बजिसकेको थियो । खाना खाएर म बालुवाटार पुग्दा करिव ८ बजेर १५ मिनेट भएको थियो । यस्तो तथ्यलाई बग्याएर म माधव नेपालजीको निवासबाट ८ बजे निस्केको र आधा घण्टा गायब भएर पौने ९ बजे बालुवाटार पुगेको र वीचमा होटल मैरियट गएको भन्ने मनगढन्ते समाचार लेखेर मेरो
देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च गरिएको भयो ।

मैले कार्यदल बालुवाटार पुगेको केही समयपछि मेरो प्रधानमन्त्रीसंग कुरा औपचारिक रुपमा पुनर्जीवित भएपछि मात्र वार्तामा सामेल हुने कुरा गरें । उहाँले कार्यदललाई औपचारिक रुपमा आरम्भ गर्ने बचन दिनुभएपछि म बार्ताका लागि तयार भएँ । कुरा सकिएपछि म घर फर्कें । यो सबै कुरा भोलिपल्ट मैले माधव नेपालजीलाई जानकारी गराएको थिए । वार्ता अगाडि बढाउन उहाँले सहमति जनाउनु भएको थियो । यस्तो तर्थ्यावपरीत सुनियोजित र प्रायोजित किसिमले मेरो राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण कुप्रचार र दुश्प्रयासको घोर भर्त्सना गर्दछु ।

यो प्रायोजित समाचार केही षडयन्त्रकारीहरुले तयार गरी विभिन्न समाचार माध्यममा वितरण गरेको देखिन्छ । म, प्रम ओली र वरिष्ठ नेता माधव नेपालजीकाबीच असार २३ गते भएको वार्ताका दिनमात्र होटल मरियट अन्य पाँचजना नेताहरुसगै गएको हुँ । अन्य कुनैपनि दिन त्यहाँ गएको छैन । असार २० गते म त्यहाँ गएको प्रमाणित गर्न झुठो समाचार लेखेर जनमानसमा भ्रम फैलाउन खोज्नेहरुलाई चुनौति दिन्छु।

अझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव गरेकोले म नरम भएको भन्ने कपोलकल्पित समाचार छापको देख्दा यो सुनियोजित षड्यन्त्रपूर्ण कुप्रचार भएको स्पष्ट हुन्छ । मलाई त्यस्तो कुनै प्रस्ताव प्रधानमन्त्री केपी ओलीले राख्नुभएन । बरु मेरो उहाँसग अडानयुक्त वार्ता भएको हो । मैले पार्टी एकता र राष्ट्रिय हितमा जोड दिएको थिए । कतिपय नेताहरुमा जस्ता जतिवेला पनि पदकै ध्याउन्नगर्नमा मेरो कुनै अभिरुचि छैन ।

म वरिष्ठ नेता माधवकुमार नेपालजीको निवासमा असार २० गते साँझ गएको कुरा उहाँ र रघुजी पन्तलाई मात्र थाहा थियो भने वालुवाटार गएको कुरा उहाँहरु दुईजना, प्रधानमन्त्री केपी शर्मा ओली र विष्णुप्रसाद पौडेललाई मात्र थाहा थियो । यस्तो स्थितिमा उक्त प्रकारको मनगढन्ते समाचार कसरी प्रचार भयो मलाई आश्चर्य लागेको छ । सायद यो नेपाली राजनीति सत्ताको फोहरी खेल तथा षडयन्त्रले भरिएको तथ्यको परिचायक होला ।

मेरो बिरुद्ध उक्त प्रकारको प्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गदा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दवाव र धम्कियुक्त फोनको स्मरण हुन्छ ।साथै नेकपा एमाले कतै विभाजनबाट रोकिने पो भयो कि भनि कतिपयलाई देखिने र लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।

पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको अटो प्रचार घृणित तहमा झरेर गरेका हुन् । यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी फुक्ने छैन । देशघाती र जनघातीहरुका कुप्रचारबाट म रत्तिभर विचलित हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्