चैत मसान्तभित्र योग्य सबै नागरिकलाई खोप लगाउने देउवा मन्त्रीपरिषदको निर्णय



काठमाडौं । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ। महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ। मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताका रुपमा मन्त्री कार्कीलाई तोकेको छ।

प्रतिक्रिया दिनुहोस्