कांग्रेसलाई एकढिक्का बनाउने अभियानमा पूर्ण सहयोग गर्ने खुम्बु कांग्रेसको प्रतिबद्धता



काठमाडौं।नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशन तथा पार्टीको सांगठनिक अवस्थाबारे छलफलका लागि सोलुखुम्बु कांग्रेसका नेता प्रकाशसिंह कार्कीले सुरु गर्नु भएको  बिशेष अभियानले सोमबार पनि निरन्तरता पाएको छ।

आसन्न जिल्ला अधिबेशनबाट नेतृत्व बीचको आन्तरिक द्वन्द्व निमिट्यान्न पारेर पार्टी संगठनलाई सशक्त र एकढिक्का बनाउने उद्देश्यसहित गतसाताबाट सुरु गरिएको यो अभियानका क्रममा सोमबार जिल्लाको खुम्बु पासाङल्हामु गाउंपालिकाका काठमाडौंमा उपलब्ध नेता-कार्यकर्ताहरुसंग छलफल तथा अन्तरकृया सम्पन्न गरिएको सोलु कांग्रेसका युबा नेता दिनराज बास्तोलाले रहस्य खबरलाई बताए।

अन्तरक्रियामा नेपाली कांग्रेस आदिबासी जनजाति बिभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा,नेपाल महिलासंघका केन्द्रीय सदस्य डोल्मा तामाङ, महासमिति सदस्य मोति रानामगर ,नेताहरु रामबहादुर बस्नेत, चुङ्बा शेर्पा, दिनराज बास्तोला,डोमा शेर्पा आङदोर्जी शेर्पा ,युबा नेता फुनुरु शेर्पा, तरुण दल अध्यक्ष छिरिङ सोनाम शेर्पा,युबा नेता आङछिरिङ शेर्पा,सोनाम शेर्पा ,पालिका ५ नं सभापति बम्बे दर्जी ,सुरेस मगर ,लाक्पाडोमा शेर्पा,छोक्की शेर्पा,मिङ्मा शेर्पा लगायत सहभागी थिए। कार्यक्रममा नेपाली काँग्रेस खुम्बु पासाङल्हामुका नेता चुङ्बा शेर्पाले पार्टी भित्र मौलाएको गुटगत राजनीतिका कारण आफुले स्थानीय तहको निर्बाचनमा पराजय ब्यहोर्नुपरेको गुनासो गर्दै नेता कार्कीको अगुवाइमा सुरुभएको यो अभियानलाई खुम्बु कांग्रेसको पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले पार्टीलाई फेरि पनि एकढिक्का बनाउन नसकिए गत स्थानीय निर्वाचनमा भोग्नुपरेको पराजयको पीडा फेरि पनि दोहोरिने बताउँदै नेतृत्व तहमा रहेकाहरुलाई यो कुरामा गम्भीर बन्न आग्रह समेत गर्नुभयो ।

अन्तरक्रियामा आफ्नो धारणा व्यक्त गर्दै नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्यसमेत रहनु भएका सोलु कांग्रेसका नेता प्रकाश सिंह कार्कीले सर्बोच्चको फैसलाले कांग्रेसको कांधमा ऐतिहांसिक जिम्मेवारी प्राप्त भएको बताउंदै यसलाई सफल बनाउनका लागि सबै एकढिक्का भएर लाग्नुको विकल्प नरहेको बताउनु भयो।एउटालाई असफल बनाउंदा आफु सफल भएको ठान्ने समग्र नेपाली राजनीतिको महारोग भएपनि यो कांग्रेसभित्र अझ हावी रहेको आरोप उहाँले लगाउनु भयो । उसको असफलता पार्टीको असफलता हो भन्ने ठानेर सबैले चुनौतीको सामना गर्ने परिपाटीको बिकास हुनुपर्छ भन्ने आफुहरुको चाहना रहेको बताउंदै उहाँले सांगठनिक हितमै आफ्नो भविष्य देख्ने संस्कारको बिकास नहुने हो भने राजनीतिमा सफलता हांसिल गर्न नसकिने धारणा राख्नुभयो।

पार्टी आदिबासी जनजाति बिभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले कार्कीले सुरु गरेको अभियानको प्रशंसा गर्दै यसका लागि आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो। पार्टी संस्थागत आधारमा नचल्दा कस्ले कस्तो परिणाम ब्यहोर्नुपर्छ भन्ने कुराको पाठ सिक्न कसैले बांकी नरहेको बताउंदै अब पार्टीगत र सामूहिक जिम्मेवारीमा जानुको विकल्प नरहेको धारणा राख्नुभयो।

अर्का नेता रामबहादुर बस्नेतले काङ्ग्रेस विधि र बिधान अनुसार एक भएर जानुपर्ने धारणा राख्नुभयो। लोकतान्त्रिक पद्धति अनुसार नचल्दा सोलुखुम्बु कांग्रेसले ठूलो क्षति ब्यहोर्नुपरेको दृष्टान्त दिंदै उनले पार्टीलाई लोकतान्त्रिक बिधि अनुसार अगाडी बढाउन कार्यकर्ताहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।

काँग्रेस नेतृ डोल्मा तामाङले काँग्रेसलाई एकढिक्का बनाउने यो अभियान अत्यन्तै प्रसंसनीय रहेको बताउँदै नेताहरुले कार्यकर्ताहरुलाई मेरो र तेरो नभनी समान व्यवहार गरे ठूलो राजनीतिक लाभ हाँसिल गर्न सकिने बताइन् । अन्तक्र्रियाका अन्य वक्ताहरुले पनि कार्कीले सुरु गरेको यो अभियानमा सबैले साथ र सहयोग गर्नु सिङ्गो काँग्रेसको हितमा हुने धारणा राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्