गठबन्धनबाट बाहिरियो माधव नेपाल समूह,अब पार्टीको संस्थागत निर्णयका आधारमा अघि बढ्ने
अन्ततः एमालेको झलनाथ खनाल(माध्व नेपाल समूह बिपक्षी गठबन्धनबाट बाहिरिएको छ। सोमबार सांझ एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने घोषणा गरेका छन् । सर्वोच्च अदालतले सोमबार संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बसेको पाँच विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले गठबन्धनबाट बाहिरिने बताएका हुन्।

उनले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन देउवालाई सुझाव समेत दिएका छन्। नेता नेपालले तत्काल आफूहरू अब कांग्रेस नेतृत्वको सरकारमा सहभागी नबन्ने बताउँदै देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन्।
‘अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि मैले साथ दिएँ। तर, अहिले परिस्थिति फेरिएको छ। मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ। अब सरकारमा सहभागी हुने, नहुने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्छौँ’, नेता नेपालको भनाई उदृत गर्दै नेपाल पक्षीय नेता रघुजी पन्तले बताए।

