सर्बोच्चको फैसलाविरुद्ध काठमाडौं र बुटवलमा युवा विद्यार्थीको प्रदर्शन



काठमाडौं।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको आदेशको विरोधमा नेकपा एमालेका युवा तथा विद्यार्थीहरुले काठमाडौं र बुटवलमा बिरोध प्रदर्शन गरेका छन् ।

चर्का नाराबाजी सहितको बिरोध प्रदर्शनपछि चौराहा राजमार्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी सर्वोच्चको आदेश आएको भन्दै स्वीकार्य नभएको बताए ।

त्यस्तै अनेरास्ववियूका रुपन्देही संयोजक साजन भण्डारीले देश फेरि अस्थिरताको दुष्चक्रमा फस्ने खतरा भएको भन्दै आदेश गलत भएको बताए । युवा संघ जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा प्रदर्शनमा उत्रिएको बताए ।

यता काठमाडौंमा भने सर्वोच्च अदालतको आजको फैसलाप्रति पूर्ण रुपमा विमति जनाउँदै पानीमा भिजेर ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नाराबाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्