पौडेल भन्छन्,-‘कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक छ’
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् ।

शनिबार क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिवर्तन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उमेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताए । समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एकजनालाई उमेदवार बनाउन कसरत भइरहेको उनको भनाइ थियो ।
अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न पनि आफू तयार रहेको खुलासा उनले गरे । तर, आफूले कसैलाई छोड्नुअगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।
उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास आफूले लिएको बताए । आउँदो भदौ २३ गतेअघि पार्टीको महाधिवेशन नगरे संविधानविपरीत हुने र पार्टीमाथि नै प्रश्नचिह्न खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको उनले बताए ।

