टोपबहादुरको प्रश्न : प्रचण्ड ओलीसंग मिल्दा क्रान्तिकारी हुने ,हामी मिल्दा कसरी गैरक्रान्तिकारी ?



काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी अवैधानिक भएको आरोप लगाएका छन् ।

उक्त पार्टीले विधि, विधान र चिन्तनमा ध्यान नदिएको र वर्षौँदेखि एउटै नेतृत्व रहँदैआएकाले अवैधानिक भएको आरोप लगाएका हुन् । नेता रायमाझीले शनिबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा यस्तो बताएका हुन् ।

उनले भने “माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा छन् । ३३ वर्षसम्म माओवादीको महाधिवेशन भएको छैन । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले इतिहास बनाएका छन् । कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो । माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐन केही पनि मानेको छैन ।”

उनले अगाडि भनेका छन्, “२०६९ सालमा भएको महाधिवेशनमा पनि आफ्ना हुनमानहरुको लिष्ट बनाउने अनि ताली पड्काउने काम भएको थियो । त्यतिवेला पनि हामीले असहमति जनाएकै थियौँ । अहिले ९ वर्षसम्म पार्टीको महाधिवेशन गरिएको छैन । यसरी पार्टी चलाउने छुट हुन्छ त ?”

पूर्वनेता पुष्पकमल दाहाल प्रचण्डप्रति उनले कडा आक्रोश पोखेका थिए । “आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भयो । पहिला आफू अनुशासनमा बस्नुपर्यो अनि अरुलाई अनुशासनको कारवाही गर्नुपर्छ” रायमाझीले भने ।

माओवादी केन्द्रले हालै गरेका कारवाहीहरु अदालतले उल्ट्याइदिएको भन्दै माओवादीले संविधान र कानून मिचेको पुष्टि भएको पनि उनको तर्क थियो । यस्तै प्रचण्डले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि उनको आरोप थियो ।

तत्कालिन नेकपा पार्टी मिलाउन अन्तिमसम्म आफूहरु लागिरहेको तर अन्त्यमा केपी ओलीलाई नै नेता मान्न तयार भएको उनको भनाइ छ । “हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ । प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ ?” उनले सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्