चीनबाट भित्रियो ८ लाख डोज भेरोसेल खोप



काठमाडौं( चीनबाट खरिद गरी ल्याइएको कोरोना संक्रमण विरुद्धको खोपको ८ लाख डोज आज शुक्रवार बिहान काठमाडौं भित्रिएको छ ।

चीनको सिनोफार्म कम्पनीसँग खरिद गरिएको ३० लाख मध्ये ८ लाख डोज खोप नेपाल भित्रिएको हो ।

 

यो खोपलाई प्रारीम्भक चरणमा वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आजै वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप ५५ वर्षभन्दा माथिको उमेर समुहका नागरिक, बाढी पहिरोबाट बढी प्रभावित जिल्ला तथा सञ्चारकर्मीलाई प्राथमिकतामा राखेर लगाइने राष्ट्रिय खोप कार्यक्रममा शाखा प्रमुख डा। झलक गौतमले जानकारी दिएका छन् ।

यसअघि चीनले १८ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो, जसमध्ये करिव साढे ४ लाख जनाका लागि हाल दोस्रो मात्राको खोप अभियान जारी छ ।

योसहित हालसम्म कोरोना संक्रमण विरुद्धको खोपको ५० लाख ४८ हजार डोज नेपाल भित्रिएको छ ।

जसअन्तर्गत भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले विकास गरेको कोभिसिल्ड खोप २४ लाख ४८ हजार डोज नेपाल भित्रिएको छ ।

उक्त मात्रा मध्ये १० लाख खरिदमा, अर्को १० लाख अनुदानमा, भारतीय सेनाले नेपाली सेनालाई १ लाख तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओ अन्तर्गतको कोभ्यास सुविधाबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त भएको हो ।

त्यस्तै, चीनबाट भेरोसेल खोपको २६ लाख डोज नेपाल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्