क्रियाशील सदस्यता नटुंगिए महाधिवेशनमा जान सकिंदैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न उब्जिएको बताएका छन् ।

विभिन्न जिल्लाबाट उजुरीहरू आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिए महाधिवेशनप्रति आशंका पैदा हुने बताएका हुन् ।
क्रियाशील सदस्य छिटो टुंग्याउनको निम्ति आफूहरूले भरमग्दुर प्रयास गरेको पनि उनले बताए । ‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि ! यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा,’ उनले भने, ‘४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमै नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहिँ छ ।’ क्रियाशील सदस्यको टुंगो लगाउन प्रयास गरिरहेको उनको भनाइ छ ।
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरूको दौडधूप पनि निकै बढेको छ ।
बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरूले बैठक गरेका थिए ।
रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाललगायतका नेताहरूसहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल कोइरालाले बताए ।
क्रियाशील सदस्य टुंगो नलगाएर महाधिवेशनमा जान नसकिने उनको भनाइ छ ।

