पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते

काठमाडौं, २४ असार । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन्। पहिरोमा परेर सात जना घाइते भएका छन्।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो। पहिरोले ६ घर बगाएको छ। पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका पाल्पाका प्रहरी प्रमुख डिएसपी रामेश्वर ट्वाँटीले जानकारी दिए।
‘आज (बिहीबार) बिहानीपख हामीले घटनाको विषयमा जानकारी पाएका हौँ। एक बालक वेपत्ता भएका र अर्का एक जनाको मृत्यु भएको जानकारी हामीलाई आएको छ,’ डिएसपी ट्वाँटीले
पहिरोले हिउँदे खोलमा ६ घर बगाएको र सात जना घाइते भएका स्थानीयबासीले बताएका छन्। पहिरो खसेको हिउँदे खोला भन्ने गाउँ सिद्धार्थ राजमार्ग नजिकै पर्छ।
पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गको धेरै ठाउँमा पहिरो खसेको डिएसपी ट्वाँटीले बताए। सिद्धार्थ राजमार्गमा पर्ने तिनाउँ गाउँपालिका-३ को ३/४ ठाउँमा पहिरो खसेको उनले जानकारी दिए। ‘सिद्धबाबा मन्दिर नजिकै धुन्चा भन्ने ठाउँमा पनि ठूलो पहिरो गएको छ। पहिरोका कारण बुटवल पाल्पा सडक खण्ड पनि अवरुद्ध छ,’ उनले भने।

