ओली- नेपाल अडानमै अल्झियो एमाले एकता कार्यदल, भोलि फेरि बैठक बस्ने



काठमाडौं । एमाले एकताका लागि गठित कार्यदलको मंगलबार बसेको बैठक पुन भोलिसम्मका लागि स्थगित भएको छ।बुंदागत रुपमा लामो छलफल भएपनि कुनै सहमति हुन नसकेपछि बैठक बुधबार बिहान सम्मका लागि स्थगित भएको हो।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठकमा विवाद समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। ‘विभिन्न कोणबाट, के-केमा विमति भएका छन् भन्नेबारेमा छलफल भयो,’ उनले भने।

यस्तै, कार्यदलका अर्का सदस्य रघुजी पन्तले विवादबारे बुँदागत छलफल भएको बताए। छलफललाई निरन्तरता दिने र भोली फेरी बैठक बस्ने सहमति भएको उनले बताए।

कार्यदलको सोमवारको बैठकमा छलफल भए पनि औपचारिक रुपमा पार्टी विवादबारे विषय प्रवेश भएको थिएन। कार्यदलले झण्डै साढे ३ घण्टा छलफल गरेको थियो।

ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मिलाउन दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। उनीहरुको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदल मार्फत सहमतिको गृहकार्य सुरु भएको हो।

ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए। यस्तै, नेपाल समूहले प्रतिनिधि सभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। दुवै नेताको अडान राजनीतिक प्रकृतिको मानेर सहमतिको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्