जसपा : ठाकुर र महतो आ-आफ्नो बाटो लाग्ने तयारीमा

काठमाण्डाै।जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष आ-आफ्नो बाटो लाग्ने तयारीमा जुटेका छन् ।अहिलेकै अवस्थामा दुई पक्ष मिलेर जान नसक्ने भन्दै निर्वाचन आयोगलाई जानकारी गराएपछि उनीहरू आआफ्नो बाटो लाग्ने निश्चित भएको हो । पार्टीको विवाद र आधिकारिकताबारे छलफल गर्न आयोगले बोलाएर गरेको छलफलमा दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएको आयोगका एक पदाधिकारीले जानकारी दिएका छन् ।

नेताहरूले अब मिल्न सक्ने ठाउँ नरहेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै एउटा पक्षलाई आधिकारिकता दिन माग गरेका छन् । प्रतिनिधि सभा विघटन र सरकारमा जाने विषयलाई लिएर जसपाभित्र विवाद चर्किएको छ ।
प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको थियो । तर उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ ।
विवाद बढ्दै गएपछि दुवै पक्षले एक/अर्को पक्षका नेताहरूलाई कारबाही गरेका छन् । तर आयोगले भने कारबाहीलाई मान्यता दिएको छैन ।

