गठबन्धन निकट विद्यार्थीहरुले गरे सरकारविरुद्ध मसालजुलुस प्रदर्शन



काठमाडौं । विपक्षी पाँच दलीय गठबन्धननिकट विद्यार्थीहरुले शनिबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध प्रदर्शन गरिएको हो ।

उनीहरुले मसाल जुलुस निकालेका थिए । नयाँ बानेश्वर र जडीबुटीमा मसाल जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी आरती लामा र नेपाललाइभका फोटो पत्रकार निमेषजंग राई घाइते भएका छन् ।

मसाल जुलुस निकाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी प्रहारबाट उनीहरु घाइते भएका हुन् । सडकमा उत्रिएर केही दिनयता विद्यार्थीहरुले सरकारको विरोध गर्दै आएका छन् ।

यसैबीच, फोटो पत्रकार क्लब, नेपालले फोटो पत्रकार राईको घुँडामा चोट लागेको जनाएको छ । विद्यार्थी र प्रहरीबीचको धरपकडमा लड्न पुगेका राईमाथि पत्रकार भएको थाहा पाउँदा पाउँदै पनि नियोजित ढंगले लाठी प्रहार गरिएको भन्दै क्लबले आपत्ति जनाएको छ ।

फोटो पत्रकार क्लबका तर्फबाट जारी विज्ञप्तिमा राईमाथि आक्रमण गर्ने प्रहरीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्