मकवानपुरमा पहिरोले बगायो सात घर,उदयपुरमा ५ सय घर डुबानमा



मकवानपुर।अविरल वर्षासँगै गएको पहिराले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएको छ । पहिरोले राक्सिराङमा चारवटा र कैलाशमा तीनवटा घर भत्किएका हुन् ।

राक्सिराङ–७ चरिमारमा आएको पहिराले घर भत्काएको छ भने केही घर बगाएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्ची घर पहिरो भत्काएको छ । सोहि वडाको दुगुवाङमा बुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीन वटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको मल्लले जानकारी दिए । यसै वडाको धकाङ्टोलमा रहेको बनैली मायाा प्रजाको घर पहिरोले बगाएको छ भने अन्य ४ वटा घर जोखिममा रहेको छ । पानी परिरहेकोले पहिरोमा घर बगाएकाहरुको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाइ भएको गाउँपालिकाले जनाएको छ ।
कैलाश गाउापालिका–२ ,३ र ४ वडामा तीन वटा घर भत्काएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको फोकलपर्सन श्यामसुन्दर महत्तोले घर भत्किएको सूचना आएको बताए । ‘धेरै खेतहरु पुरिएका छन् । पशु चौपाया मरेका छन्,’ उनले भने । गाउँपालिकाको विभिन्न स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको जानकारी आए पनि सञ्चार सेवा विच्छेद हुँदा समस्या परेको मल्लले बताए ।

गए रातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् ।

तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बेलका–२, तपेश्वरीका राजकुमार भुजेलका अनुसार बाढी गाउँघरमा प्रवेश गरेको कारण सडक, खेत जग्गा र गाउँघर विस्तारै डबान हुन थालेको हो ।

गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरेखोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछि तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए । बेलकाका आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान सुरु गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलका रामपुरले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए । वर्षाका कारण बेलकाको गिदेरीखोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल सुरु गरिएको इप्रका बेलकाले जनाएको छ ।

त्रियुगा नगरपालिका–११, गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११, ढिम्कीका शिव कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्