चीनको विकास प्रेरणादायी र शिक्षामूलक बन्नु संसारकै लागि गौरवको विषयः कर्णजीत

काठमाडौं । कर्णजीत बुढाथोकी “सुशील” नेतृत्वको नेकपा माओवादी केन्द्रले उत्तर छिमेकी देश चीनसँग नेपालले द्विपक्षीय रणनीतिक सम्बन्ध वृद्धि गर्नु आवश्यक रहेको बताएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक शताब्दी र नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ७२ वर्ष पुगेको सन्दर्भमा शुभकामना विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले नेपालको समग्र विकासको लागि चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको विषय स्वागतयोग्य रहेको जनाएको हो । पार्टी अध्यक्ष बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उदयमान चीनको विकास प्रेरणादायी र शिक्षामुलक बन्नु सिङ्गो संसारको लागि गौरवको विषय भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– “विश्वभर समाजवाद स्थापनाको प्रचुर सम्भावना भएपनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संगठीत हुन नसकिरहेको वर्तमान परिवेशमा नेकपा (माओवादी केन्द्र) विचारधारात्मक छलफल र सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारीका साथै चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष पुगेको स्वर्णिम अवसरमा आगामी यात्रा विद्युतीय गतिमा सफलता मिलोस भनि शुभकमना व्यक्त गर्दछ ।”


