प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीमा वरिष्ठ अधिबक्ता घिमिरे र केसी सिफारिस

काठमाडौं।सर्वाेच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी (अदालतका सहयोगी) का रुपमा सिफारिस गरेको छ ।

मङ्गलवार बसेको सर्वाेच्च बारको कार्यसमिति बैठकले कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका रुपमा सिफारिस गरेको बारद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएशन र सर्वाेच्च अदालत बार एसोसिएशनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।
गएकाे जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यससम्बन्धी सर्वाेच्चमा परेकाे मुद्दा विचाराधीन छ।

