कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक,महाधिवेशनको मिति हेरफेरका बिषयमा छलफल हुने



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असार ३ गते बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार ३ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बैठकका लागि सूचना जारी गरेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको विषयमा छलफल हुने जनाइएको छ ।
शनिबार बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरसम्बन्धी प्रस्ताव तयार गरेको छ ।सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको सो बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

उक्त निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए। कांग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो। सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्