गण्डकी : गुरुङले फेरि गरे मुख्यमन्त्रीको दावी



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको शैली दोहोर्‍याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्।

मुख्यमन्त्रीमा दाबी गर्नका लागि शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिइएको थियो। सोही अवधिमा गुरुङले पनि प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेस गरेका हुन्।

विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका थिए। तर, उनलाई मुख्यमन्त्री नियुक्त नगरिँदै गुरुङले पनि दाबी गरेको सार्वजनिक भएको हो। गुरुङले पनि दाबी पेश गरेको एमाले सांसद् धनञ्जय दबाडीले बताए।

गुरुङले जनमोर्चा र राजमोको पार्टी कमिटीको हस्ताक्षरसहित दाबी गरेका हुन्। उनले राजमोका पदमुक्त सांसद् कृष्ण थापा र जसपाको महन्थ ठाकुर पक्षको प्रदेश कमिटीको हस्ताक्षर बुझाएका हुन्। गुरुङले २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (५) अनुसार नयाँ पक्रिया अघि बढेको थियो।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टीको निर्णय भन्दै दिएको समर्थन सहित दाबी गरेका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहुमत सांसद्को हस्ताक्षर सहित दाबी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी अस्वीकार गरेकी थिइन्।

प्रधानमन्त्रीका लागि परेका दुवै दाबी राष्ट्रपतिले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्ने सिफारिस गरेका थिए। प्रधानमन्त्री ओलीको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्। गण्डकीमा पनि सोही शैली दोहोरिने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्