शेखर कोइराला भन्छन् – ‘ओलीलाई तानाशाह बनाउन कांग्रेसको भूमिका छ’



काठमाडौं।नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले नेपाली कांग्रेसले सशक्त रूपमा प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक तानाशाहका रूपमा शासन गरिरहेको आरोप लगाएका छन् ।

ओलीले मनपरी गर्दा पनि आफ्नो पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह नगरेकै कारण अहिलेको अवस्था आएको भन्दै कोइरालाले आईतवार बिराटनगरमा सन्चारकर्मीहरुसंग भने,- ‘ओलीलाई तानाशाहको स्वरूपमा ल्याउन नेपाली काङ्ग्रेसले नै भूमिका खेलेको हो।’

उनले भने, ‘आफ्नो शासनकालको आरम्भमा ओलीजीले सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई आफूमातहत राख्नुभयो। त्यो बेला प्रतिपक्षी दल नेपाली काङ्ग्रेस मौन रह्यो। त्यसपछि ओलीजीको मनोबल बढ्दै गयो। प्रधानमन्त्रीको मनोबल बढाउन नेपाली काङ्ग्रेसको भूमिका छ।’

कोइरालाले ओलीले सम्पत्ति शुद्धीकरण लगायतका निकाय आफूमातहत ल्याउने बेलामा नेपाली काङ्ग्रेसले सदन अवरूद्ध गरेर सडक आन्दोलन गर्नुपर्थ्यो भने।

ओली अहिले कम्बोडियन मोडलमा जान खोजिरहेको र विपक्षीलाई सखाप पार्ने हिसाबले बङ्गलादेशको मोडलमा चुनाव गराउन लागेको कोइरालाको भनाइ छ।

कोइरालाले ओलीले आफू प्रधानमन्त्री हुनुअगाडि नै प्रचण्डलाई व्यङ्ग्य गर्दै सत्ता कब्जा कसरी गर्ने भनेर एक–दुई गाउँ भाषण गरेको र पटकपटक कम्बोडियाको समेत भ्रमण गरेको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्