कोभिड-१९ विरुद्ध नेपाल बंगलादेश बैंकको हातेमालो, सरकारलाई गर्यो ६६ लाख बढीको सहयोग

काठमाडौं।नेपाल बङ्गलादेश बैंकले आफनो २७ औं वार्षिकोत्सव मनाएको छ ।

२०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको सो बंकले वार्षिकोत्सवको अवसर पारेर हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५ सय भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।
साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने छ ।
यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको छ ।

