स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने सरकारको तयारी
काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ।

पछिल्लो समय केही उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि आक्रमण बढेपछि सरकारले अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने गरि संशोधन प्रक्रियालाई अगाडि बढाएको हो।संशोधनमा
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण गरे चार वर्षसम्म कैद सजाय हुनेगरि नयाँ कानुन प्रस्ताव गरेको छ। कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ। तत्काल प्राप्त प्रमाणले कसुरदार ठहर हुने अवस्था भएमा अदालतले आक्रमणमा संलग्न व्यक्तिलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
मौजुदा कानुनको जरिवानालाई केही खुकुलो बनाएर कैद सजायलाई बढाउन प्रस्ताव गरेको हो। अहिले स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा अधिकत तीन लाख रुपैयाँसम्म जरिवान वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।
मौजुदा कानुनले स्वास्थ्यकर्मीलाई मात्र संरक्षण गरे पनि प्रस्तावित अध्यादेशले उपचारको क्रममा खटिने अस्पतालका कर्मचारीमाथि हुने आक्रमणलाई कसुर मानेको छ।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हुने कुनै पनि प्रकारको कसुरजन्य कामलाई पनि कारबाहीको दायरामा ल्याउनेगरि ऐन संशोधन प्रस्ताव अघि बढाइएको हो।
। स्वास्थ्यकर्मीको निरन्तरको मागपछि सरकारले अध्यादेश मस्यौदा गरेको हो। मन्त्रिपरिषदबाट पारित भई राष्ट्रपतिबाट जारी भएसँगै अध्यादेश लागू हुनेछ।

