१० लाख रुपैयाँको राहतकोष स्थापना गर्ने पत्रकार महासंघ सोलुखुम्बु शाखाको निर्णय



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले शाखामा आबद्ध सन्चारकर्मीहरुलाईआपतकालीन अवस्थामा राहत उपलब्ध गराउने उद्देश्यले १० लाख रुपैयाँ बराबरको राहतकोष स्थापना गर्ने भएको छ।

अध्यक्ष नुतन श्रेष्ठद्वारा प्रस्तावित पत्रकार आपतकालीन राहत कोष-२०७८ स्वीकृत गर्दै महासंघ जिल्ला शाखाको आईतवार सम्पन्न भर्चुअल बैठकले सो निर्णय गरेको हो।बैठकले तत्कालै पत्रकार महासंघ जिल्ला शाखाका नाममा बैंकमा रहेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।स्वीकृत कार्यबिधि अनुसार कोष सन्चालन गर्ने निर्णय भएको उपाध्यक्ष भोजराज कार्कीले जानकारी दिए।

शाखा उपाध्यक्ष कार्कीका अनुसार जिल्लाका पत्रकारहरुलाई व्यावसायिक रूपमा सफल बनाउन महासंघ आफैं आर्थिक र भौतिक रुपमा सफल हुनुपर्ने निष्कर्षसहित बैठकले यस आर्थिक बर्षलाई जग्गा ब्यबस्थापन तथा भवन निर्माण प्रक्रियाका लागि शुभारम्भ बर्षका रूपमा अभियान चलाउने निर्णय पनि भएको छ।

कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्डको पालनाका साथ अभियानका लागि सबैपक्षसंग समन्वय र सहकार्य गर्न शाखा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्नुका साथै बैठकले महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारहरुको सम्पूर्ण जानकारी अध्यावधिक गर्न सचिव डीबी खालिङलाई जिम्मेवारी दिईएको उनले बताए।

कोरोना भाईरसको दोश्रो लहरबाट सोलुखुम्बु पनि नराम्ररी प्रभावित बनिरहेको सन्दर्भमा नागरिकको स्वास्थ्य रक्षाप्रति गम्भीर हुन सम्बद्द पक्षको ध्यानाकर्षण गराउंदै बैठकले बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै उच्च मनोबलका साथ संचारकर्ममा खटिन संचारकर्मीहरुलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्