नेपाललाई कोभिड-१९ विरुद्धको १० लाख डाेज खाेप दिने चिनियाँ राष्ट्रपति सी चिनफिङको घोषणा



काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई कोभिड-१९ विरुद्धको १० लाख डाेज खाेप दिने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन संवादमा सीले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल १० लाख डोज खोप सहयोग गर्ने बताएका हुन् ।

संवादमा सीले कोभिड-१९ को महामारीमा नेपालले अहिले भोगिरहेको समस्यालाई सम्बोधन गर्न आवश्यक खोप तथा स्वास्‍थ्‍य सामग्री चीनले उपलब्ध गराउने बताएका हुन् ।

टेलिफोन संवादमा नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । भण्डारीले आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले त्यस्तो आश्‍वासन दिएका हुन् । नेपाल-चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता संवादमा सीले व्यक्त गरेका थिए ।

भण्डारीले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा चीन सरकारले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै थप खोप र स्वास्‍थ्‍य सामग्री उपलब्ध गराउन आग्रह गरेकी हुन् ।भण्डारीले नेपाललाई तत्काल खोप चाहिएकाले त्यसको खरिदका लागि सहजीकरण गरिदिन सीलाई आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ । चीनले नेपाललाई खोप उपलब्ध गराउने भने पनि नेपालको स्थानीय एजेन्ट नहुने भनेपछि सरकारले नै खोप लिन आनकानी गरिरहेको अवस्थामा राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।

चीनले नेपाललाई कोभिड रोकथाम र नियन्त्रणको लागि हालसम्म स्वास्थ्य सामग्रीसहित ८ लाख सिनोफार्मको भेरोसेल खोप अनुदान सहयोग गरेको छ । थप १० लाख खोप चीनले तत्काल खरिदको प्रक्रियामा पनि लैजाने भएको छ । अहिले चीनमा सिंगल डोज खोपसमेत प्रयोगमा आएको छ । त्यस विषयमा पनि छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् । भारतसँग खोप खरिद गरेर पनि भारतले अझै खोप उपलब्ध नगराएको कारण पनि उनले आफ्नो तर्फबाट खोपको पहल गरेकी हुन । भारतसँग खोप खरिद गरेपछि नेपालले पहिले उपलब्ध खोप लगाएको तर दोस्रो डोज लगाउन खोप नभएर अलमलमा परेको अवस्था छ । त्यसको कारण पनि राष्टपतिले यो प्रकारको पहल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्