एनआरएनएले नेपालमा कोरोना नियन्त्रणका लागि खोप उपलब्ध गराउन पहल गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तीव्र रूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत आइतबार बसेको संघका राष्टिय समिति, पदाधिकारीहरू तथा केन्द्रीय पार्षदहरूको संयुक्त बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गर्ने निर्णय भएको वैठकपश्चात संघद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ।
बैठकले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय पनि गरेको छ।
विज्ञप्तिमा संघले हवाइ उडान सहजिकरणको लागि नेपाल सरकारसँग आग्रहसमेत गरेको छ।
‘नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि जारी गरेको आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगन गरेका कारण मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिक, अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरू समस्यामा परेका छन्। यसर्थ गैरआवासीय नेपाली संघ नेपाल सरकारसमक्ष अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गर्दछ। पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपालीहरू भने समस्यामा परेको गुनासोसमेत सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्नसमेत यो संघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
साथै विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण उल्लेख गर्दै लामो समयदेखि गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीहरूको माग सम्बोधनका लागि नेपाल सरकारलाई अनुरोध समेत गरेको छ।

