विपक्षी दलहरु भोलिमात्र सर्वोच्च जाने

काठमाडौं ।प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरु भोलिमात्र सर्वोच्च अदालतमा जाने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा कांग्रेस सभापतिमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च जान लागेको हो।

आज रिट तयारी पुरा नभएकोले सर्वोच्च जान नभ्याएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। ‘ भोलि सर्वोच्च जाने तयारी भएको छ। रिटको तयारी हुँदैछ। बेलकासम्म सकिन्छ। आजै जाने हाम्रो तयारी थियो। तीन बजिसकेको हुनाले हामी भोलिमात्र जान्छौ,’ प्रचण्डले विपक्षी दलको बैठकपछि भने।
विपक्षी दलहरुले आन्तरिक तयारी सकाएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा छलफलका लागि जुटेका थिए। बैठकमा तत्कालीन सांसदहरुलाई नागरकिता लगायतका सामग्री ल्याउनसमेत भनिएको प्रचण्डले बताए।
उनले १४९ जना तत्कालीन सांसद(जसले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका थिए) नै सशरीर उपस्थित भएर सर्वोच्च जाने तयारी गरेको दाबी गरेका छन्।

