एमालेले सोध्यो खनाल-नेपाल सहित ११ नेतालाई स्पष्टीकरण



काठमाडौं।नेकपा एमालेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्तावमा उभिने ११ नेतालाई स्पष्टीकरण सोधेको छ।

बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय लिएको हो। उनीहरुमाथि कम्युनिष्ट आन्दोलन कमजोर बनाउन, कम्युनिष्ट नेतृत्वको सरकार ढलाउन विपक्षीसँग मिलेर अराजनीतिक क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।

माधव-झलनाथ समूहले गरेको पार्टीविरोधी क्रियाकलापबारे पनि गम्भीर रुपमा समीक्षा भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। उनीहरुले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण सोधिएकामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र निरा जैरू रहेका छन्।

शुक्रबार विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका बताइएको थियो। हिजो नै केही सांसदहरुले माधव नेपालले आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न लगाएर देउवाको पक्षमा त्यसलाई प्रयोग गरेको जानकारी संसदीय दलमा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्