कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ : निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिने



काठमाडौं।कोरोना महामारीको समयमा बिनाकारण सवारी साधन चलाएको खण्डमा जरिवाना हुने भएको छ । राष्ट्रपतिबाट जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले जरिवानाको व्यवस्था गरेको हो ।

सवारी साधनको आवत-जावतमा रोक लगाइएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसार-पसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएको खण्डमा दुई पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारीलाई ५ हजार जरिवाना हुनेछ ।

त्यस्तो सवारी सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा समेत लिनेछ । यसअघि निषेधाज्ञाको उल्लंघन गर्ने सवारीलाई दिनभर होल्ड गर्दै आएको थियो । अब भने अध्यादेश जारी भएसँगै जरिवानाको व्यवस्था लागू भएको हो ।

त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवत-जावत गरेको खण्डमा सय रुपैयाँ जरिवाना गरिनेछ । मानिसको आवत-जावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गर्नेलाई पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान अध्यादेशको दफा २१ को उपदफा १ मा उल्लेख गरिएको छ ।

अध्यादेशमा कोभिड-१९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागू हुनेगरी स्वास्थ्य आपतकाल घोषणा गर्नसक्ने उल्लेख छ।

आपतकाल घोषणा गर्दा सरकारले स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचार गर्न लगाउने, आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने सक्ने छ। त्यस्तै, सरकारले जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को निदान र उपचारको काममा लगाउन सक्ने छ।

प्रतिक्रिया दिनुहोस्