राष्ट्रपति कार्यालयले भन्यो- ‘प्रधानमन्त्रीमा ओली-देउवा कसैको दावी पुगेन’

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी खारेज गर्ने निर्णय गरेकी छन्।

दाबीकर्ता दुवै नेताका समर्थनकर्ता भनिएका सदस्यहरू एकअर्कामा दोहोरो परेका, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेकोसमेत देखिएकाले दुवैको दाबी खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दाबीमा सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकाले संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषय समेतलाई ध्यान दिँदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।
ओलीले नेकपा एमाले र जसपाका १५३ जना र देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थन रहेको भन्दै प्रधानमन्त्रीका लागि दावी पेश गरेका थिए।




