फेरि पनि ओलीकै नेतृत्वमा सरकार,जसपा पनि सहभागी हुने !



काठमाडौं।नेपालको संबिधानको धारा ७६ को उपधारा( ५) अनुसारको नयाँ सरकार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा गठन हुने सम्भावना बढेको छ।

नयाँ सरकार गठनका लागि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोको समर्थन रहेका कारण फेरि पनि ओली नै प्रधानमन्त्री बन्ने अड्कलबाजि गरिएको हो।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेको केहि घण्टापछी नै मध्यराती प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शितल निवास पुग्नुले पनि यो अड्कलबाजीलाई बल पुगेको छ।

राष्ट्रपति भण्डारीलाई बैकल्पिक सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गरेकै मन्त्रीपरिषदले जसपाको माग अनुसार आमाका नाममा बंशजको नागरिकता दिने गरि संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको थियो।सरकारले यसअघि पनि मधेस आन्दोलनका क्रममा पक्राउ परेका सो पार्टीका दर्जनौं कार्यकर्ताको मुद्दा फिर्ता लिएको थियो।

ओली नेतृत्वको सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर र महतो पनि नयाँ सरकारमा सहभागी हुने निर्णयमा पुगेको बताईएको छ। नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र उनीहरु मध्यराती नै राष्ट्रपति भण्डारी समक्ष पेश गरेको जसपाका एक नेताको दावी छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न बिहिवार सांझ आह्वान गरेकी थिइन् । सरकार गठनका लागि दावी पेश गर्न आज सांझ ५ बजेसम्मको समयसीमा छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ । त्यसअघि नै सरकार बनाउने गरी फेरि एमाले र जसपाको दौडधुप देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्