सम्पूर्ण ध्यान कोभिड-१९ विरुद्ध केन्द्रित गर्न सरकारलाई डिएलए नेपालको आग्रह



काठमाडौं।नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) ले कोभिड १९ महामारीमा केन्द्रीत हुन सरकारलाई सुझाव दिएको छ।

बिहीवार एशोसिएशनका महासचिव लक्ष्मी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा कोभिडको दोस्री लहरले नेपाली जनजीवन नै संकटग्रस्त भई सयौंको संख्याले ज्यान गुमाउनु परेको अवस्थामा सत्ता लोलुपतामा नलागी कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा सशक्त रुपमा लाग्न सुझाव दिएको हो।

‘यस संकटको घडीमा सरकारको सम्पूर्ण ध्यान जनताको स्वास्थ्यमा केन्द्रित हुनु पर्नेमा सरकारको निहित स्वार्थ, सत्ता लोलुपप्ता, आत्माकेन्द्रित व्यवहार, सरकारमा रहेर पार्टि प्रतिनिधित्व गर्ने प्रवृत्ती, पदको भागबण्डा, चरम भ्रष्टाचार, जवाफदेहीता र उत्तरदायित्वको कमी, बिश्वासनीयताको कमी तथा हचुवाका निर्णय, बिज्ञता प्रति अविश्वास, नालायकीपन तथा कुकर्मबाट सरकार नागरिकको जीवन रक्षाको लागि गम्भीर हुन नसकेको प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

एशोसिएशनले अक्सिजन, भेन्टिलेटर, अस्पतालको आपतकालिन सेवा र आवश्यक औषधीको लागि अस्पताल चाहार्दा चाहर्दै जीवन गुमाउनु पर्ने दुखद् स्थिति भोग्न जनता अभिशप्त हुनुपरेको अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर पनि गरेको छ।

स्वास्थ्य सामाग्री, खाद्यन्न तथा दैनिक उपभोग्य सामानमा दलालीकरण गर्नु सरकारको निरिहताको पराकाष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्