सोलुबासीको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन सांसद राईको माग

काठमाडौं। संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई `शूरवीर´ले दुर्गम जिल्ला सोलुखुम्बुका जनताको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन।

साेलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित राईले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई कार्यकक्षमै भेटी जनताको स्वास्थ्य रक्षाका लागि गम्भीर भइदिन आग्रह गरेका हुन्।
स्थानीय प्रशासनले समयमै रोकथाम तथा नियन्त्रणका हरसम्भव उपायहरुको अवलम्बन गर्दागर्दै पनि कोरोनाको नयाँ भेरियण्ट जिल्लाब्यापी रूपमा फैंलदै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद राईले मन्त्री त्रिपाठीलाई समयमै गम्भीर भएर आवश्यक कदम चाल्न आग्रह गरेका थिए।समयमै परिष्थितिको आंकलन गरेर आवश्यक स्वास्थ्य सामाग्रीहरुको ब्यबस्था गर्न नसके परिष्थिति थप जटिल र भयावह हुन सक्ने सांसद राइको भनाई थियो।
मन्त्री त्रिपाठीसंगको भेटमा सांसद राईले दुर्गम जिल्ला भएका कारण स्वाव संकलन गरेर अन्यत्र पठाउंदा रिपोर्ट आउन समय लागेका कारण पनि समस्या उत्पन्न भैरहेको जानकारी गराउंदै पीसीआर मेसिन लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरु जिल्लास्थित स्वास्थ्य संस्थाहरुलाई शिघ्र उपलब्ध गराउन माग गरेको सांसद राईको सचिवालय ले जनाएको छ।
सचिवालयका अनुसार सांसद राईले अक्सिजन प्लान्ट , अक्सिजन सिलिन्डर , भाईरस बिरूद्दकाे खाेप, पिसिआर मेसिन र भेन्टिलेटर सहित केही वेडहरूकाे ब्यबस्थापन तत्काल गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।
प्राथमिकता र आबश्यकताका आधार निर्धारण गरी स्वास्थ सामग्रीको बितरणलाई ब्यबस्थित गरिनुपर्नेमा सत्ता र शक्तिको पहुँचका आधारमा स्वास्थ्य सामाग्रीहरुको दुरुपयोग हुंदा त्यसको प्रत्यक्ष मार जनताले खेप्नु परिरहेको सांसद राईको भनाई थियो। चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,सासद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग भएको बताउंदै तुरून्त यस्ता बिषयकाे छानबिन अगाडी बढाउन पनि माग गरे।उनले सरकारले सिलिन्डर कहा र कसरी बितरण गरिरहेकाे छ जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए ।
भेटमा मन्त्री त्रिपाठीले सरकार कोरोना संक्रमण न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको ब्यबस्थापनमा जुटिरहेको बताउंदै सांसद राईले उठाएका मागप्रति गम्भीर रहेको बताएका थिए।

