खोप किन्दा गरिएको भ्रष्टाचारले विश्व समुदाय चकित भएको कांग्रेस नेतृ पाण्डेको आरोप
काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले कोरोना खोप किन्दा प्रधानमन्त्रीको वरिपरि रहेका मान्छेले गरेको भ्रष्टाचारलाई देखेर विश्व समुदाय चकित भएको बताएकी छिन् । उनले सरकार, मन्त्री र प्रधानमन्त्रीको यस्तो समाचार बाहिर आउँदा पनि उनीहरुको तर्फबाट कुनै प्रतिक्रिया नआउनुले सरकार पनि भ्रष्टको संरक्षक भएको प्रष्ट हुन जाने बताइन् ।

उनले सरकार जनता मार्न लागिरहेको आरोप लगाएकी छिन् । जनता भए मात्र राजनीति गर्न पाइन्छ भन्ने कुरा सरकारले नबुझेको समेत उनको आरोप छ । सधैं जनताको नाममा राजनीति गर्छु भन्ने एमालेको वास्तविक चरित्र अहिले उदांगो भएको उनको बुझाई छ । उनले यो बेला जनताले सरकारको हिसावकिताव राखिरहेकाले अब आगामी दिनमा एमालेलाई राजनीति गर्न निकै समस्या पर्ने समेत बताइन् । उनले नागरिकलाई फेरि पनि झुक्किएर एमालेमा मतदान नगर्न पनि अनुरोध गरेकी छिन् ।
उनले कोरोना महामारीको यो बेलामा सरकारले गर्नुपर्ने आफ्नो दायित्व निर्वाह नगरेकोमा आपत्ति जनाएकी छिन् ।
अप्ठेरो परेको बेलामा सरकारले जनताको सेवा गर्नुपर्नेमा जिम्मेवारीबाट पन्छिएको भन्दै उनले सरकारका क्रियाकलापप्रति जनता निराश भएको बताइन् । ‘सरकार सांसद किनबेचमा लागेको छ, कोरोना खोप किन्न उसले बिर्सिएको छ, योभन्दा लाजमर्दो अवस्था अरु हुन सक्दैन’ उनले भनिन् ‘ प्रधानमन्त्री र मन्त्री छन् भन्ने सुनिन्छ तर काम भने केही देखिँदैन, जनताको लासमाथि उनीहरु राजनीति गर्दै कमाउन थालेका छन् ।’ उनले अहिले बनेको नयाँ सरकारबाट पनि जनताले केही नपाउने स्पष्ट पारेकी छिन् ।
नेपाली कांग्रेस कास्कीले दुइवटा गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेको उनले जनाइन् । कोरोना संक्रमितले सवारी साधनको अभावमा अस्पताल पुग्न नपाई ज्यान गुमाउनुपरेको भन्दै उनले सबैको सहयोगका लागि यो अभियान चलाइएको बताइन् । ‘हामीले सुरु गरेको सेवा सबैका लागि हो, जसले पनि सेवा लिन पाउँछ’ उनले भनिन् ‘यो असहज अवस्थामा हामीले पनि नागरिकको लागि केही गर्नुपर्छ भनेर सेवा सुरु गरेका हौं ।’ उनले यो अभियानमा सहयोग गर्नेप्रति विशेष आभार व्यक्त गरेकी छिन् । पाण्डेका अनुसार पार्टी कार्यालयमा पनि होम आइलोसेसन बनाइएको छ ।
‘हुन त जनताको जीवन बचाउने र यो बेलामा राहत दिने काम सरकारको हो उसले केही नगरेपछि विपक्षमा बसेका भए पनि हामी यो अभियान चलाउन बाध्य भयौं’ उनले भनिन् ‘को सत्तापक्ष, को विपक्ष केही पनि नभनी यो महामारी नियन्त्रण गर्न सबै एकजुट हुनुको विकल्प छैन ।’

